Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 4

लुका 4:9-32

Help us?
Click on verse(s) to share them!
9त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
10किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
11अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।”
12येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।”
13अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।
14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
15उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो ।
17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,
19र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
20त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो ।
21उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
22उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र ?
23येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
24साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
26तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
27अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
28जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।
30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।
31त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
32तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।

Read लुका 4लुका 4
Compare लुका 4:9-32लुका 4:9-32