Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 22

लुका 22:35-64

Help us?
Click on verse(s) to share them!
35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र ?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”
36तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।
37किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।”
38तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस ! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”
39भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।
40जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।”
41उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,
42“हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस् ।”
43तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए ।
44पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए ।
45जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो ।
46र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।”
47हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,
48तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ ?”
49जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ ?”
50तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए ।
51येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।
52येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ?
53जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
54तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
55त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे ।
56पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
57तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।”
58केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
59लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।”
60तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो ।
61प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।”
62पत्रुस बाहिर गएर धुरुधुरु रोए ।
63तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।
64उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?”

Read लुका 22लुका 22
Compare लुका 22:35-64लुका 22:35-64