Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 23

लुका 23:3-42

Help us?
Click on verse(s) to share them!
3पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
4पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
5तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”
6त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
7जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
8जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
9हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
10मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
11हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
12हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।
13तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
14र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
15हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।
16यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
17अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
18तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
19बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
20येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
21तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
22पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र ? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
23तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।
24त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
25त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
26तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।
27मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
28तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
29किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
30त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’
31यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान् ?”
32उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
33जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
35मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”
36अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
37“यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”
38“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
39क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ ? हामीलाई र आफैँलाई बचाऊ ।”
40तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस् ?
41हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
42र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”

Read लुका 23लुका 23
Compare लुका 23:3-42लुका 23:3-42