Text copied!
CopyCompare
पवित्र बाइबल - १ इतिहास

१ इतिहास 14

Help us?
Click on verse(s) to share them!
1तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्‍ति एउटा महल बनाए ।
2अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्‍नो राज्यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।
3यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
4यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,
5यिभार, एलीशूअ, एल्‍पेलेत,
6नोगह, नेपेग, यापी,
7एलीशामा, बेलीयादा र एलीपेलेत ।
8अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।
9अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।
10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”
11यसैले तिनीहरू बाल-पराजीमसम्‍म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैं परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्‍काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्‍यो ।
12पलिश्‍तीहरूले आफ्‍ना देवताहरू त्‍यहीं छोडे र तिनलाई जलाउनु भन्‍ने हुकुम दाऊदले दिए ।
13तब पलिश्‍तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गरे ।
14त्यसैले दाऊदले फेरि पनि परमेश्‍वरसँग मदत मागे । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्‍तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा ।
15जब तैंले लहरे-पीपलका रूखका टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्‍तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।”
16यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।
17तब दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।