1दाऊदले आफ्ना हजार र सयका कमाण्डरहरू, हरेक अगुवाहरूसँग सल्लाह लिए ।
2तब तिनले इस्राएलका जम्मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔं । हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस् ।
3हाम्रा परमेश्वरको सन्दूकलाई हामी आफूकहाँ फर्काएर ल्याऔं, किनकि शाऊलको राज्यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”
4तब सबै समुदायले त्यसो गर्न सहमती दिए, किनभने सबै मानिसको दृष्टिमा ती कुरा उचित लाग्यो ।
5यसैले किर्यत-यारीमबाट परमेश्वरको सन्दूक ल्याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्मका सारा इस्राएललाई दाऊदले भेला गराए ।
6तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्वरको सन्दूक ल्याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात् किर्यत-यारीममा उक्लेर गए ।
7त्यसैले तिनीहरूले परमेश्वरको सन्दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्जाह र अहियोले उक्त गाडा धकेल्दै थिए ।
8दाऊद र सम्पूर्ण इस्राएलले परमेश्वरको सामु आफ्नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्याली र तुरहीको साथमा गाउँदै थिए ।
9जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्जाहले सन्दूक समात्नलाई आफ्नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्यो ।
10तब परमप्रभुको क्रोध उज्जाहको विरुद्ध दन्कियो, र परमेश्वरले तिनलाई मार्नुभयो, किनकि उज्जाहले आफ्नो हात बढाएर सन्दूक छोएका थिए । तिनी परमेश्वरको सामु त्यहीं मरे ।
11परमप्रभुले उज्जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्जाह भनिन्छ ।
12त्यो दिन दाऊद परमेश्वरसँग डराए । तिनले भने, “परमेश्वरको सन्दूकलाई कसरी मकहाँ घरमा ल्याउन म सक्छु?”
13यसैले दाऊदले उक्त सन्दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।
14यसरी सन्दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्म रह्यो । यसैले परमप्रभुले तिनको घर र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो ।