Text copied!
CopyCompare
पवित्र बाइबल - १ इतिहास

१ इतिहास 16

Help us?
Click on verse(s) to share them!
1तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।
2दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।
3तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
4परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।
6बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
7तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे ।
8परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
9उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।
10उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌ ।
11परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज ।
12उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,
13ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।
14उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ ।
15आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।
16उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
17यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।
18उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”

19तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए,
20तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।
21उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।
22उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”
23हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।
24जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर ।
25किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।
26किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो ।
27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।
28मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।
29परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर ।
30हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन ।
31स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।”
32समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।
33अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ ।
34परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ ।
35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
36परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”

37यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
38ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
39सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।
40परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।
41तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ ।
42पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
43तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।