Text copied!
CopyCompare
पवित्र बाइबल - १ इतिहास

१ इतिहास 15

Help us?
Click on verse(s) to share them!
1दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।
2तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”
3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
4दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।
5कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए ।
6मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।
7गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए ।
8एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।
9हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए ।
10उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए ।
11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए ।
12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।
13तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।”
14यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।
15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।
16लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
17यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे ।
18तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।

19सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्‍यालीहरू बजाउन नियुक्त गरियो ।
20जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए ।
21मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे ।
22लेवीहरूका अगुवा कनन्‍याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए ।
23बेरेक्‍याह र एल्‍काना सन्‍दूकका गार्डहरू थिए ।
24शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए ।
25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।
26परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।
27सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।
28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।
29तर जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्‍यालबाट बाहिर हेरिन् । उनले दाऊद राजालाई नाच्‍दै र उत्सव मनाउँदै गरेका देखिन् । तब उनले आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्‌ ।