Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 23

Help us?
Click on verse(s) to share them!
1कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।
2खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
3गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
4आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
5तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
6मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
7झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
8कहिल्यै घुस नलेओ किनकि घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
9परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
10छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
11तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
12छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
13मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
14मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर ।
15तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
16तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।
17तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
18मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।

19तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
20बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
21तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
22तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
23मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।
24तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
25तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
26तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
27म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
28म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
29म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
30बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
31नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
32तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।
33तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”