Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 10

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
2मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्‍न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।”
3त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
4तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।
5कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।
6तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।
7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”
8मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”
9मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”
10फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्‍टता छ ।
11तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
12तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”
13मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।
14सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे । त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन ।
15पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो ।
16त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्‍न पठाए र भने, “मैले तिमीहरूका परमेश्‍वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।
17अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्‍वरसित बिन्ती चढाइदेओ ।”
18त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।

19परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।
20तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
21त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।”
22मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।
23कसैले कसैलाई देख्‍न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।
24फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”
25तर मोशाले भने, “हाम्रा परमप्रभु परमेश्‍वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ ।
26हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।”
27तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
28फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।”
29मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस् । म फेरि तपाईंको अनुहार हेर्नेछैनँ ।”