Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 20

Help us?
Click on verse(s) to share them!
1परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः
2“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
3मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।
4आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
5तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
6तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
7परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
8मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।
9तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।
11किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
12आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
13कसैको हत्या नगर्नू ।
14कसैसित व्यभिचार नगर्नू ।
15कसैबाट केही नचोर्नू ।
16आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
17आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
18सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।

19तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
20मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको छ ।”
21त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए ।
22परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
23तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
24मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
25तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
26तिमीहरूको नग्‍नता नदेखियोस् भनेर खुट्‌किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।