Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 26

Help us?
Click on verse(s) to share them!
1तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।
2हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।
3पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।
4पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।
5पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।
6सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू ।
7पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।
8हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।
9पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।
10पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू ।
11पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू ।
12पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू ।
13एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।
14रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् ।
15पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।
16हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।
17फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू ।
18पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू ।

19ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू ।
20पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक
21र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू ।
22पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छवटा फल्याक बनाउनू ।
23पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू ।
24यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।
25चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् ।
26तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार,
27पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू ।
28फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।
29तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।
30तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।
31निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।
32सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।
33पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
34प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
35पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्‍ने सामदान राख्‍नू ।
36पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।

37यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।