Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 7

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरजस्तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ ।
2मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ ।
3तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।
4तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।
5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”
6परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे ।
7फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।
8परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
9“फारोले तिमीहरूलाई 'आश्‍चर्यकर्म गर्' भन्दा तैँले हारूनलाई भन्‍नू, 'तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्यो सर्प बन्‍नेछ' ।”
10तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो ।
11तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।
12हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो ।
13फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।
14परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।
15फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।
16त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'
17परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।
18नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।'

19तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्‍नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।”
20परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।
21नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।
22तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।
23तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् ।
24सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।
25परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो ।