Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 18

Help us?
Click on verse(s) to share them!
1मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने ।
2मोशाले आफ्नी पत्‍नीलाई माइत पठाएपछि तिनका ससुरा यित्रोले सिप्पोरा
3र उनका दुई जना छोरालाई लिए । पहिलो छोरोको नाउँ गेर्शोम थियो किनकि मोशाले भने, “म परदेशी भूमिमा परदेशी भएर बसेको थिएँ ।”
4अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए, “मेरा पिता-पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो । उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो ।”
5मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्‍नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए ।
6तिनले मोशालाई भने, “तिम्री पत्‍नी र तिम्रा दुई छोरा लिएर म तिम्रो ससुरा यित्रो आउँदै छु ।”
7मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे । तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे ।
8परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए ।
9परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो ।
10यित्रोले भने, “परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो र मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको छ, र मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको छ ।
11अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”
12मोशाका ससुरा यित्रोले परमेश्‍वरको लागि होमबलि र बलिदानहरू ल्याए । हारून र इस्राएलका सबै धर्म-गुरु मोशाका ससुरासितै भोजन खान परमेश्‍वरको अगि उपस्थित भए ।
13अर्को दिन मोशा मानिसहरूको इन्साफ गर्न बसे । मानिसहरू बिहानदेखि बेलुकासम्म तिनको वरिपरि खडा भए ।
14मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, “तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?”
15मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।
16तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।”
17मोशाका ससुराले तिनलाई भने, “तिमीले गरिरहेको काम त्यति राम्रो होइन ।
18निश्‍चय नै तिमी र तिमीसित भएका तिम्रा मानिसहरू थाक्‍नेछन् । यो तिमीले बोक्‍नै नसक्‍ने बोझ हो । तिमी आफैले मात्र यो गर्न सक्दैनौ ।

19मेरो कुरा सुन । म तिमीलाई सल्लाह दिनेछु, र परमेश्‍वर तिमीसित हुनुभएको होस् किनकि तिमी परमेश्‍वरको निम्ति मानिसहरूका प्रतिनिधि हौ र तिमीले नै तिनीहरूका झगडाहरूलाई उहाँकहाँ लैजान्छौ ।
20तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।
21त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।
22तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन्, तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् । स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् । यसरी तिमीलाई सजिलो हुनेछ र तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन् ।
23तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।”
24त्यसैले मोशाले आफ्ना ससुराका कुरा माने र तिनले भनेअनुसार गरे ।
25मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।
26सामान्य परिस्थितिहरूलाई तिनीहरूले न्याय गर्थे । कठिन मुद्दाहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर स-साना मुद्दाहरूलाई भने तिनीहरू आफैले न्याय गर्थे ।
27तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे र यित्रो आफ्नै देशमा फर्के ।