Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती

गन्ती 24

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्‍ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् । बरु, तिनले मरुभूमितिर हेरे ।
2तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्‍वरका आत्मा तिनीमाथि आयो ।
3तिनले यो अगमवाणी पाए र भने, “बओरका छोरा बालाम बोल्न लाग्दै छ, जुन मानिसका आँखा खुला छन्, त्यसका वाणी ।
4तिनले परमप्रभुको वचन सुन्छ र बोल्छ । त्यसले सर्वशक्‍तिमान्‌बाट दर्शन प्राप्‍त गर्छ, जसको सामु त्यसले आँखा खुला राखेर दण्डवत् गर्छ ।
5हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन् !
6तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।
7तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन् । तिनीहरूका राजा अगागभन्दा उच्‍च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ ।
8परमेश्‍वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ । तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् । तिनले तिनीहरूका हड्‍डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन् । तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन् ।
9तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र ? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।”
10बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए । बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो ।
11त्यसैले अहिले नै गइहाल्नुहोस् । मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ, तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्‍चित गर्नुभएको छ ।”
12त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने,
13'बालाकलाई चाँदी र सुनले भरिएको तिनको दरबार नै दिए पनि, म परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ । म परमप्रभुले मलाई भन्‍नुहुने कुरा मात्र बताउन सक्छु ।' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ र ?
14त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु । तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् ।”
15बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी ।
16यो परमेश्‍वरको वचन सुन्‍नेको व्यक्‍तिको अगमवाणी हो, जससँग सर्वोच्‍चको ज्ञान छ, जससँग सर्वशक्‍तिमान्‌बाट आएको दर्शन छ, जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ ।
17म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् ।
18त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ ।

19याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् ।”
20त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।”
21अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, “तिमीहरू बस्‍ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ ।
22तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्‍ट हुने छौ ।
23बालामले तिनको अन्तिम अगमवाणी भने, “धिक्‍कार! परमेश्‍वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्‍छ ?
24कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् ।
25त्यसपछि बालाम उठे र हिँडे । तिनी आफ्नै घरतिर फर्के र बालाक पनि गए ।