Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 23

Help us?
Click on verse(s) to share them!
1तब अय्यूबले जवाफ दिए र यसो भने,
2“आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।
3ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्‍छु भनी मैले जानेको भए ! ओहो, म उहाँको बासस्थानमा गएको भए !
4उहाँको सामु म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।
5उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।
6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।
7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।
8हेर्नुहोस्, म पूर्वतिर जान्छु, उहाँ त्यहाँ हुनुहुन्‍न, अनि पश्‍चिमतिर जान्छु, तर म उहाँलाई भेट्‍न सक्‍दिन ।
9उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्‍छ, तर म उहाँलाई देख्‍न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्‍न सक्दिनँ ।
10तर म हिंड्‍ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्‍छ, तब म खारिएको सुनझैं हुनेछु ।
11मेरो खुट्टाले उहाँका पाइला पक्‍का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।
12उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्‍दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।
13तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र ? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
14किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्‍यस्ता कुराहरू त्‍यहाँ धेरै छन् ।
15त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।
16किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ ।
17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।