Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 24

Help us?
Click on verse(s) to share them!
1दुष्‍ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्‌ले किन तोक्‍नुभएको छैन ? परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन् ?
2यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।
3अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्‍ती लैजान्छन् । विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन् ।
4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।
5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
6गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।
7तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् । जाडोमा ढाक्‍नलाई तिनीहरूसित केही हुँदैन ।
8तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन् ।
9यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन् ।
10तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् ।
11गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
12सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्‍च्याउँछ । तर परमेश्‍वरले दोष लगाउनुहुन्‍न ।
13केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
15साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्‍छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्‍नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ ।
16अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।

19जसरी खडेरी र तापले हिउँलाई पगालेर पानी बानउँछ, त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्‍छ ।
20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ ।
21बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।
22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।
23तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन् ।
24यी मानिसहरू उच्‍च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ ।
25यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ ?