Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 28

Help us?
Click on verse(s) to share them!
1निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।
2फलामलाई जमिनबाट बाहिर निकालिन्छ । धातु पगालेर तामा निकालिन्‍छ ।
3एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्‍धकारमा, पल्‍लो छेउसम्‍म खानिजको खोजी गर्छ ।
4मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ । ऊ यताउता हल्लिन्छ ।
5जमिनमा खद्यान्‍न उत्‍पादन हुन्‍छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्‍छ ।
6यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।
7कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।
8रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्यहाँबाट गएको छ ।
9एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्‍छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ ।
10उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।
11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।
12बुद्धि कहाँ पाइनेछ ? सुझबुझको ठाउँ कहाँ छ ?
13मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ ।
14पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।'
15सुनले त्यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ ।
16ओपीरको सुनसित त्यसको मूल्य दाँज्न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्छ ।
17सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ ।
18मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ ।

19कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ ।
20तब बुद्धि कहाँबाट आउँछ ? सुझबुझको ठाउँ कहाँ छ ?
21बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।
22विनाश र मृत्युले भन्छन्, 'हामीले आफ्‍ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं ।'
23कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।
24किनकि उहाँले पृथ्वीको पल्‍लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्‍डलको मुनि हेर्नुहुन्छ ।
25उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो ।
26उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।
27तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो ।
28मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”