Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 1

Help us?
Click on verse(s) to share them!
1तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्‍तो भयो । आकाश खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें ।
2त्‍यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो—
3कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो ।
4तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो । एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्‍यसको वरिपरि र भित्र चहकिलो उज्‍यालो थियो, र त्‍यस आगोको माझ जल्‍दो पहेंलो धातुझैं थियो ।
5माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए,
6तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए ।
7तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए जो टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे ।
8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः
9एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्‌थ्‍यो ।
10तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।
11तिनीहरूका मुहार यस्‍तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्‍तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेका थिए ।
12तिनीहरू हरेक सोझै हिंड्‌थे, ताकि आत्‍माले जता-जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे, तिनीहरू यताउता नफर्की हिंड्‌थे ।
13ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो, राँकोहरूजस्‍ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्‍यहाँ बिजुलीका चमकहरू थिए ।
14ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे ।
15तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें ।
16ती पाङ्‌ग्राहरूका आकार र बनावट यस्‍ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्‍तै थिए, र ती चारैवटा उस्‍तै किसिमका थिए । एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो ।
17जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्‌थे ।
18तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।

19जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे ।
20आत्‍मा जता जानुहुन्‍थ्‍यो तिनीहरू त्‍यतै जान्‍थे, र ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए ।
21जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्‍थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्‍थे । ती प्राणीहरू जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए ।
22ती जीवित प्राणीहरूका शिरको मास्‍तिर विशाल अर्धगोलाकार क्षेत्रजस्‍तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो ।
23त्‍यो विशाल अर्धगोलाकार क्षेत्र मुन्‍तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्‍थ्‍यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्‍ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्‍ने जोडी थियो ।
24तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो । आँधीको वर्षाजस्‍तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्‍थे, तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे ।
25जब तिनीहरू ठिङ्ग उभिए र आफ्‍ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।
26तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो जुन हेर्दा त्‍यो नीलमणीजस्‍तै देखिन्‍थ्‍यो, र त्‍यो सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो ।
27मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें । उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो ।
28उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो । त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो । जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।