Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 37

Help us?
Click on verse(s) to share them!
1परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो । त्‍यो हाडहरूले भरिएको थियो ।
2त्‍यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्‍ख्‍या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए ।
3उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्‍वर, यो त तपाईंले मात्र जान्‍नुहुन्छ ।”
4तब उहाँले मलाई भन्‍नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन ।
5परमप्रभु परमेश्‍वर यी हाडहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्‍न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।
6म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्‍नेछु र तिमीहरूमा सास हाल्‍नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।’”
7यसैले जस्‍तो मलाई आज्ञा गरियो तेस्‍तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।
8मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्‍यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन ।
9तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’”
10यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्‍यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए ।
11तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो , यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्‍कृत भएका छौं ।’
12यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्‍याउनेछु ।
13ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्‍नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्‍नेछौ ।
14तिमीहरूभित्र म आफ्‍नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्‍नेछौ, तब तिमीहरूलाई आफ्‍नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
15अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
16“यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो लि र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्‍यसपछि अर्को लौरो लि र त्‍यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’
17ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् ।
18जब तेरा मानिसहरूले तँलाई खोज्‍छन् र यसो भन्छन्, ‘के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्‍नुहुन्‍न?’

19तब तिनीहरूलाई यसो भन्, ‘परम्प्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, एफ्राइमको हातमा भएको योसेफको हाँगो र त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर म यहूदाको हाँगोसँग जोड्दैछु, ताकि तिनीहरू एकै हाँगो बनाउनेछन्, र तिनीहरू मेरो हातमा एक हुनेछन् ।’
20तिनीहरूका आँखाका सामु तैंले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात् ।
21तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्‍दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु ।
22देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् ।
23त्‍यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्‍वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु ।
24मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्‍नेछन्, र ती पालना गर्नेछन् ।
25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
26तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्‍नेछु ।
27मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
28तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्‍नेछन् । त्‍यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्‍छ ।’”