Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 5

Help us?
Click on verse(s) to share them!
1“तब ए मानिसको छोरो, आफ्‍नो लागि हजामको छुराजस्‍तै एउटा धारिलो तरवार ली र त्‍यसको धारले आफ्‍नो कपाल र दाह्री खौरी, त्यसपछि जोख्‍नलाई तराजू ली, र तेरो कपाललाई भाग लगा ।
2घेराबन्‍दीका दिन समाप्‍त हुन्‍छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्‍न म तरवार थुत्‍नेछु ।
3तर कपालको केही भाग लि र आफ्‍नो लुगामा ती बाँध् ।
4तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्‍यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।”
5परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “जातिहरूका बिचमा भएको यरूशलेम यही हो, जहाँ मैले त्यसलाई राखेको छु र जहाँ मैले त्‍यसलाई अरू देशहरूले घेरेको छु‌ ।
6तर आफ्‍नो दुष्‍ट्याइँमा आफ्‍ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू र अन्य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिंडेका छैनन् ।”
7यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आफ्‍ना चारैतिरका जातिहरूभन्‍दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ,”
8यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु ।
9तेरा घिनलाग्‍दा कामहरूको कारण तँलाई म यस्‍तो गर्नेछु, जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न म फेरि कहिल्‍यै गर्नेछु ।
10यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।
11यसकारण जस्‍तो म जीवित छु—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।
12तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु ।
13तब मेरो क्रोध पुरा हुनेछ , र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ । म सन्तुष्‍ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ ।
14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।
15यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्‍नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्‍नेछ । म रिस, क्रोध र डरलाग्‍दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ ।
16म तेरो विरुद्ध अनिकालको मेरा घातक र नष्‍टकारी काँणहरू छोड्‌नेछु, जुन तेरो सर्वनाशको कारण बन्‍नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु ।
17तेरो विरुद्धमा म अनिकाल र प्रकोपहरू ल्याउनेछु, यसरी तँ बालकहिन हुनेछस् । रूढी र रक्तपात तेरो बिचबाट जानेछ, र म तेरो विरुद्ध तरवार ल्याउनेछु—म, परमप्रभुले नै यो घोषणा गरेको हुँ ।”