Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 6

Help us?
Click on verse(s) to share them!
1परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,
2“ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।
3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु ।
4तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्‍बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।
5इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु ।
6तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्‍ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।
7मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
8तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन् ।
9तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।
10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।
11परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “आफ्‍नो ताली बजा र आफ्‍ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्‍ट र घिनलाग्‍दा व्‍यवहारहरूका कारण, धिक्‍कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्‍ट हुनेछन्‌ ।
12टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्‍नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन्‌ । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!
13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।
14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।