Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 18

Help us?
Click on verse(s) to share them!
1फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्‌गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
3जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्‍यै यो उखान भन्‍ने अवसर हुनेछैन ।
4हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन्‌ । जुन प्राणले पाप गर्छ, त्‍यही मर्नेछ ।
5एक जना धर्मी र न्‍याय तथा धर्मिकता कायम राख्‍ने मानिसको बारेमा के भण्‍न सकिन्छ—
6उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्‍त्रीकहाँ जान्‍छ । के ऊ धर्मी मानिस हो?
7यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?
8यस्तो मानिसको बारेमा के भन्‍ने, जसले आफूले दिएको लोनको ब्‍याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्‍वस्‍तता कायम गर्छ ।
9एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू मान्‍छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्‍यो निश्‍चय नै बाँच्‍नेछ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
10तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्‍या गर्छ र यी माथि उल्‍लेखित कुनै पनि काम गर्छ,
11(उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्‍छ, र आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्‍न सकिन्छ र?
12यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्‍छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ, र घिनलाग्‍दा कामहरू गर्छ,
13र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।
14तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।
15त्‍यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्‍ना आँखा लगाउँदैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्‍न सकिन्छ?
16त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन, तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ, र नाङ्गालाई लुगाले ढाक्‍छ ।
17त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरूअनुसार हिंड्‍छ । त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्‍चय नै बाँच्‍नेछ ।
18उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।

19तर तिमीहरू भन्छौ, 'छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नु किन नपर्ने?' किनकि छोराले न्‍याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्‍चय नै बाँच्‍नेछ ।
20जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नेछैन, र बुबाले आफ्‍नो छोराको अधर्मको फल भोग्‍नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्‍टको दुष्‍ट्याइँ पनि उसमाथि नै रहनेछ ।
21तर कुनै दुष्‍ट मानिसले आफूले गरेका सबै पापहरू त्‍याग्‍छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्‍याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्‍चय नै बाँच्‍नेछ, र मर्नेछैन ।
22उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्‍झना फेरि गरिनेछैन । उसले अभ्‍यास गरेको धर्मिकताको कारणले ऊ बाँच्‍नेछ ।
23के दुष्‍टको मृत्‍युमा म खुशी हुन्‍छु र—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—र ऊ बाँचोस् भनी ऊ आफ्‍नो चाल छोडेर फर्केकोमा खुसी हुन्‍न र?
24तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्‍झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।
25तर तिमीहरू भन्‍छौ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्‍यायपुर्ण छैनन्? अन्‍यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?
26जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।
27तर जब दुष्‍ट मानिसले आफूले गरेका दुष्‍ट कामबाट फर्कन्‍छ, र न्‍याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्‍नो जीवन बचाउनेछ ।
28किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्‍चय नै बाँच्‍नेछ, र ऊ मर्नेछैन ।
29तर इस्राएलको घरानाले भन्‍छ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्‍यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन ।
30यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । पश्‍चात्ताप गर, आफ्‍ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्‍ने ढुङ्गाहरू नबनून् ।
31तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
32किनकि मर्नेको मृत्‍युमा म खुसी हुन्‍न—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—यसैले पश्‍चात्ताप गर, र बाँच ।