Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 42

Help us?
Click on verse(s) to share them!
1त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।
2यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।
3यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
4ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।
5तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।
6किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए ।
7बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।
8बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।
9पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।
10पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
11ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
12दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।
13तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।
14पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”
15ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
16तिनले पूर्वी भागलाई एउटा नाप्‍ने लौरोले नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
17तिनले उत्तरी भागलाई नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
18तिनले दक्षिणी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।

19तिनी फर्केर पश्‍चिमी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
20तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।