Text copied!
CopyCompare
पवित्र बाइबल - इजकिएल

इजकिएल 36

Help us?
Click on verse(s) to share them!
1“अब, ए मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गर् र यसो भन्, ‘ए इस्राएलका पर्वतहरू, परमप्रभुको वचन सुन ।
2परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।”’
3यसकारण अगमवाणी गर र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू उजाड भएका हुनाले र तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ । तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ ।
4यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्‍वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्‍यागिएका सहरहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,
5यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः निश्‍चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’
6यसकारण, इस्राएल देशलाई अगमवाणी गर र पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, मेरो क्रोध र रिसमा म यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ ।
7यसकारण, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: म आफ्नो हात उठाएर यो शपथ खान्छु, कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्‍नेछन् ।
8तर, ए इस्राएलका पहाडहरू, तिमीहरूले हाँगाहरू बढाउनेछौ र तिमीहरूले मेरा मानिस इस्राएलका लागि फल दिनेछौ, किनभने तिनीहरू छिटै तिमीहरूकहाँ फर्केर आउनेछन् ।
9किनकि हेर, म तिमीहरूका निम्ति हुँ, र म तिमीहरूलाई कृपा दृष्‍टिले व्यवहार गर्नेछु । तिमीहरूको खनजोत गरिने र बीउ छरिनेछ ।
10यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्‍ख्‍या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्‍नावशेषहरू पुनःनिर्माण गरिनेछन् ।
11ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्‍ख्‍यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्‍यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
12तिमीहरूमा हिंड्‍नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई म ल्‍याउनेछु । तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ, र तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ ।
13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्‍ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,”
14यसकारण तिमीहरूले फेरि मानिसहरूलाई भष्‍म गर्नेछैनौ, र तिनीहरूले आफ्ना जातिलाई मृत्‍युको शोकमा पार्नेछैनौ । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
15न त म तिमीहरूलाई जातिहरूको अपमान फेरि सुन्‍न दिनेछु । तिमीहरूले फेरि कहिल्यै मानिसहरूको लाजलाई सहनुपर्नेछैन न त तिमीहरूको जातिको पतन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
17“ए मानिसको छोरा, जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे, तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू र कामहरूले अशुद्ध पारे । मेरा सामु तिनीहरूका चालहरू स्‍त्रीको रजस्वलाको अशुद्धताझैं थिए ।
18यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत र आफ्‍ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्‍नो क्रोध खन्याएँ ।

19मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पारें । तिनीहरू देशहरूमा तितरबितर भए । तिनीहरूका चालहरू र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें ।
20त्यसपछि तिनीहरू जातिहरूकहाँ गए, र तिनीहरू जहाँ-जहाँ गए, तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारे । मानिसहरूले तिनीहरूका विषयमा यसो भने, ‘के यिनीहरू साँच्‍चै नै परमप्रभुका मानिसहरू हुन्? किनकि यिनीहरू त उहाँको देशबाट बाहिर फालिएका छन् ।’
21तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्‍यो ।
22यसकारण इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए इस्राएलको घराना, यो मैले तेरो निम्ति गरेको होइन, तर मेरो पवित्र नाउँको खातिर हो, जसलाई तिमीहरू जहाँ गयौ, त्‍यहाँ तिमीहरूले अशुद्ध पारेका छौ ।
23किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्‍यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
24तिमीहरूलाई जातिहरू निकाल्‍नेछु र हरेक देशबाट तिमीहरूलाई भेला पार्नेछु र तिमीहरूका आफ्नो देशमा तिमीहरूलाई म ल्याउनेछु ।
25त्‍यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्‍ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु ।
26तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्‍नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु ।
27तिमीहरूमा म आफ्‍नो आत्मा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न र मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्‍याउनेछु ।
28तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।
29किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्‍नलाई आज्ञा गर्नेछु र त्‍यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ ।
30रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।
31त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।
32यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।
33परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु ।
34किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।
35तब तिनीहरूले भन्‍नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्‍तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।”
36तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।

37परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलको घरानालाई मानिसहरूका बगालझैं वृद्धि गरिदिन तिनीहरूले मलाई फेरि बिन्ती गर्नेछन् ।
38जस्‍तो बलिदानको निम्ति बगाललाई अलग गरिन्‍छ, जस्‍तो तोकिएका चाडहरूमा यरूशलेममा बगाल हुन्‍छन्, त्‍यस्‍तै भग्‍नावशेष भएका सहरहरू मानिसहरूका बगालले भरिनेछन् र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”