Text copied!
CopyCompare
पवित्र बाइबल - १ शमूएल

१ शमूएल 15

Help us?
Click on verse(s) to share them!
1शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।
2सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्‍यान दिएको छु ।
3अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्‍त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।”
4शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्‍या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।
5तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे ।
6शाऊलले केनीहरूलाई भने, “जाऊ, विदा होओ, अमालेकीहरूबाट बाहिर निस्की आओ, ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्‍ट गर्नेछैन । किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ ।” त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए ।
7त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।
8तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।
9तर शाऊल र तिनका मानिसहरूले अगागलाई र राम्रा भेडाहरू, गोरुहरू, मोटा बाछाहरू र थुमाहरूलाई बचाई राखे । हरेक असल कुरालाई तिनीहरूले नाश गरेनन् । तर घृणित र तुच्‍छ कुनै पनि कुरालाई तिनीहरूले पूर्ण रूपमा नाश गरे ।
10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,
11“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।
12शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।”
13तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस् ! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।”
14शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”
15शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।”
16तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”
17शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,
18र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्‍नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'

19तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?”
20तब शाऊलले शमूएललाई भने, “मैले साँच्‍चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु ।
21तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्‍वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू, भेडाहरू र गोरुहरू जस्ता केही लुटका मालहरू लिए ।”
22शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्‍न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्‍नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो ।
23किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्‍टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।
24तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।
25अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ ।
26शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”
27जसै शमूएल जानलाई फर्कंए, शाऊलले तिनको कपडाको छेउ समाते र त्‍यो च्यातियो ।
28शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।
29साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्‍नो मन बदल्‍नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्‍न।
30त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ ।
31त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।
32तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्‍याउनुहोस् ।” अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए र भने, “निश्‍चय नै मृत्यु तीक्‍तता टरेको छ ।”
33शमूएलले जवाफ दिए, “जसरी तेरो तरवारले स्‍त्रीहरूलाई बालकहीन बनाएको छ, त्यसरी नै तेरो आमा पनि स्‍त्रीहरूका माझमा बालकहीन हुनेछे ।” अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा-टुक्रा बनाए ।
34शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।
35शमूएलले आफ्‍नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।