Text copied!
CopyCompare
पवित्र बाइबल - १ शमूएल

१ शमूएल 7

Help us?
Click on verse(s) to share them!
1किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।
2त्‍यो बेलादेखि लामो समयसम्म अर्थात् बिस वर्षसम्म त्‍यो सन्दुक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।
3शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”
4त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।
5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”
6तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।
8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”
9शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।
10शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।
11इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।
12त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्‍यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।”
13यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।
14पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थपना गरियो । इस्राएलले पलिश्तीहरूबाट आफ्‍ना इलाका फिर्ता लियो । अनि इस्राएल र एमोरीहरू बिच शान्ति थियो ।
15शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।
16तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।
17त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।