Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 17

Help us?
Click on verse(s) to share them!
1मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
2निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।
3मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र ?
4किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न ।
5इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।
6तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।
7शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।
8यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्‍वरहीन मानिसहरूको विरुद्धमा सुर्‍याउनेछ ।
9धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ ।
10तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।
11मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।
12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।
13मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,
14र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,
15तब मेरो आशा खोइ त ? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र ?
16जब हामी धूलोमा फर्कन्‍छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र ?