Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू

यहोशू 8

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । ऐमा जा । हेर्, मैले ऐका राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु ।
2तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू ।
3त्यसैले यहोशू उठे र तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए । त्यसपछि यहोशूले बलियो र सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए ।
4तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ ।
5म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।
6हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।
7त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ ।
8जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु ।
9यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्‍ने ठाउँतिर गएर तिनीहरू ऐको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुके ।
10यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे ।
11तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र ऐको उत्तरतिर छाउनी हाले । ऐ र तिनीहरू बिचमा एउटा बेँसी थियो ।
12तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुक्‍न पठाए ।
13तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए ।
14जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन ।
15यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे ।
16सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।
17इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।
18परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे ।

19तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए ।
20ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।
21जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे ।
22सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।
23तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए ।
24जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे ।
25त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए ।
26यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।
27परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।
28यहोशूले ऐलाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ ।
29तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ ।
30त्यसपछि यहोशूले परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई
31आज्ञा गरेअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति एबाल डाँडामाथि एउटा वेदी बनाए, जस्तो मोशाको व्यवस्थाको पुस्तकमा लेखिएको छः “नकाटेका ढुङ्गाहरूबाट बनाइएको एउटा वेदी, जसमाथि कसैले पनि फलामको हतियार चलाएको छैन ।” तिनले वेदीमाथि परमप्रभुको होमबलि चढाए र तिनीहरूले मेलबलि चढाए ।
32त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे ।
33स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।
34त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्‌हरू र सरापहरू सबै पढे, जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो ।
35इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन् ।