1इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो ।
2परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्त सिपाहीहरूसहित तेरो हातमा सुम्पेको छु ।
3तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू ।
4सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्नू ।
5त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”
6अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।”
7तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”
8यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो ।
9सशस्त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे र पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे ।
10तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए, “नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्यसपछि मात्र कराओ ।”
11त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे ।
12यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक बोके ।
13परमप्रभुको सन्दुकअगि भेडाको सिङको सातवटा तुरही बोक्ने सात जना पुजारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्दुकको पछिपछि हिँडे । त्यसपछि तुरही लगातार बजाइयो ।
14तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।
15सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे । त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे ।
16जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ ।
17यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् ।
18तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ, ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ, र तिमीहरूले तिनीहरूमध्ये कुनै पनि नलेओ । यदि तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले इस्रएलको छाउनीलाई विनाश गरिनु पर्ने थोकजस्तै तुल्याउने छौ र तिमीहरूले यसमाथि कष्ट ल्याउने छौ ।
19सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
20जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो ।
21तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।
22त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।”
23त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए । तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए । तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए ।
24तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए । चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो ।
25तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे । उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन् ।
26त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए, “यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ, र त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ ।”
27परमप्रभु यहोशूसँग हुनुहुन्थ्यो, र तिनको कीर्ति सारा मुलुकभरि फैलियो ।