Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू

यहोशू 1

Help us?
Click on verse(s) to share them!
1परमप्रभुका दास मोशाको मृत्युपछि परमप्रभु मोशाका मुख्य सहायक नूनका छोरा यहोशूसँग यसरी बोल्नुभयो,
2“मेरो दास मोशाको मत्यु भएको छ । यसकारण, उठ्, तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ । तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ म तँलाई दिने छु ।
3मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु ।
4त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।
5तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन । जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुने छु । म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ ।
6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।
7बलियो हो र खुबै साहसी हो । मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् । यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्‍ने छस् ।
8तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस् । तैँले यसलाई दिनरात मनन गर्ने छस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्‍ने छस् । अनि तेरो फलिफाप हुने छ र तँ सफल हुने छस् ।
9के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ ।
10अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे,
11“छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।”
12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,
13“परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।'
14तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।
15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।
16त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्ने छन् । त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कने छौ र यसलाई अधिकार गर्ने छौ ।”
17तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा गर्नुभएका सबै कुरा हामी गर्ने छौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ हामी उतै जाने छौँ । हामीले मोशाको आज्ञा पालन गरेझैँ हामी तपाईंको आज्ञा पनि पालन गर्ने छौँ । परमप्रभु तपाईंका परमेश्‍वर मोशासँग रहनुभएझैँ तपाईंसँग रहनुभएको होस् ।
18तपाईंका आज्ञाहरू विरुद्ध विद्रोह गर्ने र तपाईंका वचनहरूको अवज्ञा गर्ने जोसुकैलाई मार्नुपर्छ । मात्र बलियो र साहसी हुनुहोस् ।”