Text copied!
CopyCompare
पवित्र बाइबल - २ इतिहास

२ इतिहास 36

Help us?
Click on verse(s) to share them!
1त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए ।
2यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे ।
3मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए ।
4मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।
5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
6त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।
7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।
8यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए ।
9यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे ।
10बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
11सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे ।
12तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।
13परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
14यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।
15परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।
16तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
17यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
18परमेश्‍वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।

19उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।
20तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।
21यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो ।
22फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने:
23“फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”