Text copied!
CopyCompare
पवित्र बाइबल - २ इतिहास

२ इतिहास 6

Help us?
Click on verse(s) to share them!
1तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,
2तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”
3त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
5‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
6तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
7अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
8तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
9तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ ।’
10परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।
11परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”
12सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खडा भए र आफ्‍ना हात फैलाए ।
13किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्‍यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेके, र तिनले आफ्‍ना हात स्‍वर्गतिर फैलाए ।
14तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।
15तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।
16अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’
17अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।
18तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?

19तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।
20यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।
21यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।
22कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,
23स्‍वर्गबाट सुन्‍नुहोस् र काम गर्नुहोस्‌ । दोषी मानिसलाई दोषी ठहर्‍याएर र त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्‍ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस्‌ । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्‍यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
24जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—
25तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।
26जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
27तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
28देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
29अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।
30तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।
31यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून्‌ जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून् ।
32विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान्‌ नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,
33तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।
34जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
35तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।
36जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।

37तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’
38जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
39तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।
40अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।
41हे परमप्रभु परमेश्‍वर, अब आफ्‍नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् । हे परमप्रभु परमेश्‍वर, तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्‌ ।
42हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।