Text copied!
CopyCompare
पवित्र बाइबल - २ इतिहास

२ इतिहास 2

Help us?
Click on verse(s) to share them!
1सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए ।
2सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।
3सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्‍यसै गर्नुहोस् ।
4हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न, त्‍यसलाई उहाँको निम्‍ति अलग गर्न, उहाँको सामु सुगन्‍धित मसलाका धूप बाल्‍न, उपस्‍थितिको रोटी राख्‍न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु । यो इस्राएलको निम्‍ति सदासर्वदाको लागि हो ।
5मैले निर्माण गर्न लागेको मन्‍दिर अत्‍यन्‍तै ठूलो भवन हुनेछ, किनकि हाम्रा परमेश्‍वर अरू सबै देवताभन्‍दा महान्‌ हुनुहुन्‍छ ।
6तर सारा विश्‍व र स्‍वर्ग नै पनि परमेश्‍वरको निम्‍ति सानो हुन्‍छ भने, कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?
7यसकारण मेरो निम्‍ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्‍ने एक जना निपुण कारीगर पठाइदिनुहोस्‌। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्‍ने मानिस पनि होऊन्‌ । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन्‌ ।
8मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्‌नुपर्छ भनी जान्दछन् । हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,
9ताकि मेरो निम्‍ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्‍दिर महान् र आश्‍चर्यको हुनेछ।
10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”
11टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो ।”
12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्‍वर धन्‍यका होउन्, जसले स्‍वर्ग र पृथ्‍वीको सृष्‍टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा राजमहल बनाउनुहुनेछ ।
13अब मैले एक जना सिपालु मानिस हुराम-अब्‍बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ ।
14तिनी दानका छोरीमध्येकी एक जना स्‍त्रीका छोरा हुन्‌ । तिनका बुबा टुरोसका मानिस हुन् । तिनी सुन र चाँदी, काँसा, फलाम, ढुङ्गा र काठका काम अनि बैजनी, रातो र नीलो ऊनी धागो र मलमलका कपडाका काममा पनि अनुभवी कारीगर हुन्‌ । तिनी कुनै पनि किसिमका बुट्टा कुँद्‍ने र कुनै पनि किसिमको नमूनाको काममा सिपालु छन् । तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्‍वामी तपाईंका बुबा दाऊदका कारीगरहरूका साथमा काम गर्ने ठाउँको व्यवस्था गरिदिनुहोस् ।
15अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌ ।
16तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं । मूढाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्‍म लैजानुहुनेछ ।”
17आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।
18यिमध्‍येका सत्तरी हजारलाई भारी बोक्‍न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्‌न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।