Text copied!
CopyCompare
पवित्र बाइबल - २ इतिहास

२ इतिहास 29

Help us?
Click on verse(s) to share them!
1हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
2आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।
3तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले र तिनको मरम्‍मत गरे ।
4तिनले पुजारीहरू र लेवीहरूलाई ल्‍याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।
5तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ ।
6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।
7तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।
8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।
9त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन्‌ ।
10अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् ।
11ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”
12तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्‍माहका छोरा योआ र योआका छोरा अदन ।
13एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्‍याह ।
14हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्‍जीएल ।
15तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे ।
16परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे ।
17पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्‍म पुगेका थिए । अनि अझै आठ दिनसम्‍म तिनीहरूले परमप्रभुको मन्‍दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्‍यो काम सिद्ध्याए ।
18त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल, त्‍यसका सबै सामानसमेत ।
19यसैले हामीले राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्‍मै सरसामान पनि हामीले तयारी र पवित्र गर्‍यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌ ।”
20तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए ।
21तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्‍याए, अनि राज्‍य, पवित्रस्‍थान र यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
22यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।
23तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको अघि ल्‍याए । तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे ।
24पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्‍ति चढाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए ।
25हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
26लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।
27हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।
28सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्‍यो ।
29जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्‍टो परे र आराधना गरे ।
30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।
31तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए ।
32समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए ।
33परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।
34तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए ।
35यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो ।
36परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो ।