Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश

हितोपदेश 15

Help us?
Click on verse(s) to share them!
1विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।
2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
3परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।
4निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ ।
5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।
6धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।
7बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।
8परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।
9परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।
10कठोर अनुशासनले आफ्नो बाटो त्याग्‍नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
11पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला ?
12गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ । त्यो बुद्धिमान्‌कहाँ जाँदैन ।
13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।
14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।
15थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।
16भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
17घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।
18रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।

19अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।
20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
22सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।
23उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
24जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।
25परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।
26परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।
27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
28जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।
29दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ ।
30आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।
31कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।
32अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
33परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।