Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 19

लुका 19:8-32

Help us?
Click on verse(s) to share them!
8जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।”
9येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।
10किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”
11तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।
12त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।
13उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
14तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
15तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।
16पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’
17ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’
18दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’
19ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
20अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।
21किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’
22ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
23त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ ?’
24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’
25तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’
26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
27तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
28यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।
29बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
30“नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
31यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”
32पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।

Read लुका 19लुका 19
Compare लुका 19:8-32लुका 19:8-32