35सियोनमा बस्नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।”
36त्यसकारण परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।
37बेबिलोन भग्नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्दा छैन ।
38बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्चाहरूजस्तै कराउँछन् ।
39तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—
40म तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू, बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु ।
41कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्नावशेषको ठाउँ भएको छ!
42बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
43त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।
44त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
45ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।
46देशमा सुनिएको खबरले तिमीहरूको हृदयमा डर वा भय नहोस्, किनकि खबर एक वर्षसम्म आउनेछ । यसपछि अर्को वर्ष देशमा खबर र हिंसा हुनेछ । शासक शासकको विरुद्धमा हुनेछ ।
47त्यसकारण, हेर, यस्ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
48त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
49जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्नेछन् ।
50तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।
51हामी लज्जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।
52त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।
53किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला-अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि, मबाट त्यसकहाँ विनाशकहरू आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
54बेबिलोनबाट निराशाको चित्कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
55किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।
56किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन्, र त्यसका योद्धाहरू कब्जामा परेका छन् । तिनीहरूका धनुहरू भाँचिएका छन्, किनकि परमप्रभु बदलाको परमेश्वर हुनुहुन्छ । उहाँले निश्चय नै यो बदला लिनु नै हुनेछ ।
57किनकि म त्यसका राजकुमारहरू, बुद्धिमान् मानिसहरू, अधिकारीहरू र सिपाहीहरूलाई मत्त्याउनेछु, र तिनीहरू चिर निद्रामा सुत्नेछन् अनि कहिलै बिउँझने छैनन्—द यो महाराजाको घोषणा होः उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
58सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
59यहूदाका राजा सिदकियाहले राज्य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।
60बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।
61यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।