Text copied!
CopyCompare
पवित्र बाइबल - यर्मिया

यर्मिया 7

Help us?
Click on verse(s) to share them!
1परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,
2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।
3सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।
4छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'
5किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,
6तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,
7म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
8हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।
9के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ ?
10त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ ?
11के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो ? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
12‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर ।
13त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ ।
14त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
15जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।”
16“ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।
17यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस् ?
18छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् ।

19के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् त ? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र ?
20त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।”
21इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।
22किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ ।
23मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
24तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।
25तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।
26तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए ।’
27त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्‍नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।
28तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्‍वरको आवाज नसुन्‍ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्‍ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।
29आफ्नो कपाल काट र आफूलाई खौरी । खुला ठाउँहरूमा मृत्‍यु संस्‍कारको गीत गा । किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्‍नुभएको छ ।
30किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन् ।
31अनि बेन-हिन्‍नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्‍यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।
32यसैले हेर, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभुको घोषणा हो, त्‍यसबेला त्‍यो फेरि तोपेत वा हिन्‍नोमको बेँसी भनिने छैनन् । त्‍यो हत्याको बेँसी भनिनेछ । तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन् ।
33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
34यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ ।”