Text copied!
CopyCompare
पवित्र बाइबल - यर्मिया

यर्मिया 42

Help us?
Click on verse(s) to share them!
1तब सेनाका सबै कप्‍तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठुलासम्म सबै मानिसले यर्मिया अगमवक्ताकहाँ आए ।
2तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्‍नुहोस् । परमप्रभु तपाईंका परमेश्‍वरलाई यी बाँकी रहेका मानिसहरूको पक्षमा बिन्ती चढाउनुहोस्, किनकि तपाईं देख्‍नुहुन्छ, हामी सङ्ख्यामा एकदम थोरै छौं ।
3हामीले जानुपर्ने बाटो हामीलाई देखाउन र हामीले के गर्नुपर्छ भनेर परमप्रभु तपाईंका परमेश्‍वरलाई सोध्‍नुहोस् ।”
4त्यसैले यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनेको छु । हेर, तिमीहरूले अनुरोध गरेझैं म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रार्थना चढाउनेछु । परमप्रभुले जे जवाफ दिनुहुन्छ, म तिमीहरूलाई बताउनेछु । म तिमीहरूबाट कुनै कुरो लुकाउनेछैनँ ।”
5तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई भन्‍नुभएअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन् ।
6असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्‍नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्दा हाम्रो भलो होस् ।”
7दस दिनको अन्त्यमा परमप्रभुको वचन यर्मियाकहाँ आयो ।
8त्यसैले यर्मियाले कारेहका छोरा योहानान र तिनीसित भएका सेनाका सबै कप्‍तान र सानादेखि ठुलासम्म सबै मानिसलाई बोलाए ।
9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,
10'तिमीहरू फर्केर जान्‍छौ र यस देशमा बस्‍छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।
11बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।
12किनकि म तिमीहरूलाई कृपा देखाउनेछु । म तिमीहरूमाथि दया देखाउनेछु, र म तिमीहरूलाई फर्काएर तिमीहरूकै देशमा ल्याउनेछु ।
13तर तिमीहरूले यसो भन्‍छौ, 'हामी यस देशमा बस्‍नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुन्‍दैनौ ।
14तिमीहरूले यसो भन्‍छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्‍नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्‍नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्‍यहाँ बस्‍नेछौं' ।”
15ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्‍यहाँ जाने र बस्‍ने पक्‍का गरिसकेका छौ भने,
16तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्रदेशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्‍नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।
17त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।
18किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्‍यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्‍नेछौ, र फेरि तिमीहरूले यो देश देख्‍नेछैनौ ।”

19तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्‍का थाहा छ ।
20तिमीहरूले मलाई परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ यसो भनेर पठाउँदा तिमीहरूले आफैलाई घातक रूपमा धोका दियौ, 'हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरमा प्रार्थना गर्नुहोस् । परमप्रभु हाम्रा परमेश्‍वरले बताउनुहुने हरेक कुरा हामीलाई बताउनुहोस्, र हामी त्यो पूरा गर्नेछौं ।'
21किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्‍नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।
22त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्‍ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्‍ने कुरा तिमीहरूले पक्‍का रूपले जानिराख ।”