Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू

२ राजाहरू 11

Help us?
Click on verse(s) to share them!
1अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।
2तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
3अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो ।
4सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।
5तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,
6र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।”
7शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।
8हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।
9त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
10तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।
11मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।
12तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून् !”
13जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन् , तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।
14तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”
15तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”
16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।
17तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।
18त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे ।

19यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।
20त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।
21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।