Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू

२ राजाहरू 21

Help us?
Click on verse(s) to share them!
1मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो ।
2परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे ।
3किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे ।
4परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए, यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो, “यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ ।”
5परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए ।
6तिनले आफ्नो छोरोलाई आगोमा हिंड्‍न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्‍माहरू र भूत आत्‍माहरूसँग बात गर्नेहरूका सल्‍लाह लिए । तिनले परमप्रभुको दृष्‍टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए ।
7आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्‍नेछु ।
8मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न र मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने म पार्नेछैनँ ।”
9तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।
10त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो,
11“यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ,
12त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ ।
13मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।
14मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,
15किनकि तिनीहरूका पुर्खाहरू मिश्रदेशबाट बाहिर आएदेखि आजसम्म नै मेरो दृष्‍टिमा जे खराब छ, त्यही तिनीहरूले गरेका छन्, र मलाई रिस उठाएका छन् ।”
16यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो ।
17मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
18मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।

19आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।
20तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।
21आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।
22आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् ।
23आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्‍नै घरमा मारे ।
24तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए ।
25आमोनले गरेका अरू कुराहरूका विषयमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
26मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।