Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू

२ राजाहरू 18

Help us?
Click on verse(s) to share them!
1इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे ।
2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।
3आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे ।
4तिनले उच्‍च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्‍ट पारे र अशेरा स्‍ताम्‍भहरू टुक्राटुक्रा पारिदिए । तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए । यसलाई, “नहूश्तान” भनिन्थ्यो ।
5इस्राएलका परमप्रभु परमेश्‍वरमा हिजकियाको यस्‍तो विश्‍वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन, न त तिनीभन्‍दा पहिलेका राजाहरूका माझमा नै कोही थियो ।
6किनकि तिनी परमप्रभुमा लागिरहे । तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे ।
7त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्‍नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् ।
8पलिश्तीहरूको देश गाजा र पहरेदार बस्‍ने धरहरादेखि किल्लाबन्‍दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते ।
9राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्‍यसलाई घेरा हाले ।
10तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा, तिनीहरूले त्‍यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो ।
11यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले ।
12तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्‍यसलाई सुन्‍न र पालन गर्न इन्कार गरे ।
13तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे ।
14त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्‍याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्‍नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे ।
15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।
16त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले । तिनले उक्‍त सुन अश्शूरका राजालाई दिए ।
17तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्‍यहाँ रोकिए ।
18जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए ।

19त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो ?
20युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो ?
21हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्‍छ र त्यसलाई छेडिदिन्‍छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्‍ति मिश्रदेशका राजा फारो त्यस्तै हो ।
22तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ' ?
23त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्‍न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु ।
24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।
25के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र ? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”
26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”
27तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको हो र ? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ ?”
28तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।
29राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।
30हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'
31हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसित सम्झौता गर र मकहाँ आओ । तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउने छ, र आफ्नै कुवाको पानी पिउन पाउनेछ ।
32अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्‍नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन ।
33के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र ?
34हमात र अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन् ? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन् ?
35देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ र ? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र ?”
36तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू ।”

37तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।