1यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।
2परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।
3तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।
4मोआबका राजा मेशाले भेडाहरू पाल्थे । तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो ।
5तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।
6त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।
7तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”
8तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”
9त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्ति पानी भएन ।
10त्यसैले इस्राएलका राजाले भने, “यो के हो ? के परमेश्वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो ?”
11तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्लाह लिन सक्छौँ ?” इस्राएलका राजाका सेवकमध्ये एक जना जवाफ दियो र भन्यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्थे ।”
12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।
13एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र ? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”
14एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर म भन्छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ ।
15तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्यो ।
16तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'
17किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरूले बतास देख्नेछैनौ, न त वर्षा देख्नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'
18यो परमप्रभुको दृष्टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।
19किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।”
20त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।
21जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमा हतियार भिर्न सक्ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए ।
22तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्यो रगतजस्तै रातो देखियो ।
23तिनीहरू चिच्च्याए, “यो त रगत पो हो ! निश्चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन्! त्यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।”
24जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।
25तिनीहरूले सहरहरू नष्ट पारे, र हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रुखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले र आक्रमण गरे ।
26जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।
27तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्नै देशमा फर्के ।