Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह

भजनसंग्रह 102

Help us?
Click on verse(s) to share them!
1हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस् ।
2मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्‍नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस् ।
3किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
4मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु ।
5मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।
6म उजाडस्‍थानको धनेसझैं भएको छु । भग्‍नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
7एक्‍लिएको चराझैं छानामाथि म एक्‍लै जागा रहन्छु ।
8मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
9खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
10तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्‍नलाई माथि उचाल्नुभएको छ ।
11मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
12तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
13तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।
14किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।
15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
16परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।
17त्यसबेला, उहाँले दरिद्रको प्रार्थनाको जवाफ दिनुहुनेछ । उहाँले तिनीहरूको प्रार्थना इन्कार गर्नुहुनेछैन ।
18यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।

19किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
20कैदीहरूका विलाप सुन्‍न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
21तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
22जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।
23उहाँले मेरो जीवनको बिचमा मेरो बल हटाउनुभएको छ । उहाँले मेरो आयुलाई घटाउनुभएको छ ।
24मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
26तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
27तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
28तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।”