Text copied!
CopyCompare
पवित्र बाइबल - २ शमूएल

२ शमूएल 2

Help us?
Click on verse(s) to share them!
1यसपछि दाऊदले परमप्रभुलाई सोधे र भने, “के म यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ?” पमरप्रभुले तिनलाई जवाफ दिनुभयो, “उक्लेर जा ।” दाऊदले भने, “म कुन सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “हेब्रोनमा जा ।”
2त्यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम र नाबालकी विधवा कार्मेली अबीगेलसहित माथि गए ।
3दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
4त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”
5त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
6अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ ।
7अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”
8तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।
9उनले ईश्‍बोशेतलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए ।
10शाऊलका छोरा ईश्‍बोशेतले इस्राएलमाथि शासन गर्न सुरु गर्दा तिनी चालिस वर्षका थिए, र तिनले दुई वर्ष राज्‍य गरे । तर यहूदाको घरानाले दाऊदलाई नै पछ्याए ।
11दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष छ महिना थियो ।
12नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्‍बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
13सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्‍के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
14अबनेरले योआबलाई भने, “जवान मानिसहरू उठुन् र हाम्रो सामुन्‍ने प्रतिस्पर्धा गरून् ।” योआबले भने, “तिनीहरू उठुन् ।”
15त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्‍बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
16हरेकले आ-आफ्‍नो प्रतिद्वन्द्वीलाई टाउकोमा समात्यो र आ-आफ्‍नो प्रतिद्वन्द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे र तिनीहरू एकसाथ भुईंमा ढले । यसकारण, त्यस ठाउँलाई “हल्कत-हज्‍जुरीम” वा “तरवाको मैदान” भनियो जुन गिबोन हो ।
17त्यस दिन घमसान लडाइँ भयो र अबनेर र इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्‍ने परास्‍त भए ।
18सरूयाहका छोराहरू योआब, अबीशै र असाहेल थिए । असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए ।

19असाहेल नजिकबाट अबनेरलाई खेदे र तिनी दाहिने-देब्रे कतै नलागी खेदे ।
20अबनेरले तिनलाई पछाडि हेरे र भने, “के तिमी असाहेल हौ?” तिनले भने, “हो, म हुँ ।”
21अबनेरले तिनलाई भने, “दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ ।” तर असाहेलले यताउता फर्केनन् ।
22त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्‍न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”
23तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्‍यो, त्‍यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
24तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्‍न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्‍थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
25बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
26त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने छ?”
27योआबले जवाफ दिए, “जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ, तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए ।”
28त्यसैले योआबले तुरही फुके र तिनका सबै मानिसहरू रोकिए र फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे ।
29अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्‍यसपछि महनोममा पुगे ।
30योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
31तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
32त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे, जुन बेथलेहेममा थियो । योआब र तिनका मानिसहरूले रातभरि यात्रा गरे र झिसमिसमा हेब्रोन पुगे ।