3हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना र सुसन्ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
4अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो ।
5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
6अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।
7अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।
8तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस् ।
9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।
10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्नेछैनन्, सुनेर पनि बुझ्नेछैनन् ।’
11अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो ।
12बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचून् ।
13त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।
14काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन् ।
15तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
16अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्ने सबैले उज्यालो देखून् ।
17किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्ने र ज्योतिमा आउन नसक्ने हुन्छ ।
18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”