41त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्नुभयो, “हे पिता, मेरो बिन्ती सुन्नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु ।
42म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् ।”
43उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ !”
44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्वास गरे ।
46तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।
47त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने ? यस मानिसले धेरै चिह्नहरू गर्छन् ।
48यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”
49तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।
50सम्पूर्ण राष्ट्र नै नष्ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्ने तिमीहरू ठान्दैनौ ।”
51अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।
52राष्ट्रको निम्ति मात्र होइन, तर छरपष्ट भएका परमेश्वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो ।
53त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।