1यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
2यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन् ।
3त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए ।
4(नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो ।
5त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
6जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ ?”
7त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।”
8येशूले त्यसलाई भन्नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”
9त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।
10त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”
11त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्नुभयो ।”
12उनीहरूले त्यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्ने त्यो मानिस को हो ?”
13तापनि येशू सुटुक्क गइसक्नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको थियो ।
14पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
15त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
16अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
17येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
18यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्वर समान तुल्याएर परमेश्वरलाई पिता भन्नुभयो ।
19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
20किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
21किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
22किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
23त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
24साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
25साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् ।
26किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,
27र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
28यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ,
29र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
30म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
31यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।
32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
33तिमीहरूले यूहन्नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
34तर मैले प्राप्त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
35यूहन्ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्ने गवाही दिन्छन् ।
37मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गरिरहेका छैनौ ।
39तिमीहरू धर्मशास्त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्ने सोच्दछौ र यी नै धर्मशास्त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
41म मनिसहरूबाट प्रशंसा प्राप्त गर्दिनँ,
42तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्वरको प्रेम छैन ।
43म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।
44एक अर्कोबाट प्रशंसा खोज्ने तर परमेश्वरबाट मात्र आउने प्रशंसा नखोज्नलाई तिमीहरूले कसरी विश्वास गर्न सक्छौ ?
45पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
46यदि तिमीहरूले मोशामा विश्वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
47यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्वास गर्छौ र ?”