Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक

उपदेशक 9

Help us?
Click on verse(s) to share them!
1मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।
2सबैको अन्त्य उही किसिमको हुन्छ । धर्मी र दुष्‍ट मानिसहरू, असल, शुद्ध र अशुद्ध अनि बलिदान चढाउने र बलिदान नचढाउने सबैको दशा एउटै हुन्छ । जसरी असल मानिसहरू मर्छन्, त्यसै गरी पापीहरू मर्ने छन् । जसरी वाचा बाँध्‍ने मर्छ, त्यसै गरी शपथ खान डराउने मानिस पनि मर्ने छ ।
3सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।
4सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ । मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो ।
5किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन ।
6तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन् ।
7आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ ।
8तेरा लुगाहरू सधैँ सेता होऊन्, र तेरो शिर तेलले अभिषेक गरियोस् ।
9परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।
10तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।
11मैले सूर्यमूनि केही रोचक कुराहरू देखेको छुः तीव्रगतिमा कुद्‍नेहरूले दौड जित्दैनन् । बलिया मानिसहरूले युद्ध जित्दैनन् । बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन् । समझशक्ति भएका मानिसहरूले धन-सम्पत्ति पाउँदैनन् । ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन् । बरु, समय र अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन् ।
12निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।
13मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो ।
14एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।
15अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन ।
16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”
17मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ ।
18युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ ।