Text copied!
CopyCompare
पवित्र बाइबल - २ इतिहास

२ इतिहास 26

Help us?
Click on verse(s) to share them!
1यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्‍जियाहलाई लिए र तिनका पिता अमस्‍याहको ठाउँमा तिनलाई राजा बनाए ।
2यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्‍याए । त्यसपछि राजा आफ्‍ना पुर्खाहरूसित सुते ।
3उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।
4तिनले हरेक कुरामा आफ्‍ना पिता अमस्‍याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो सो गरे ।
5तिनलाई परमेश्‍वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्‍वरको अगुवाइ खोज्‍नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्‍म परमेश्‍वरले तिनको फलिफाप गराइदिनुभयो ।
6उज्‍जियाह बाहिर गए र पलिश्‍तीहरूसँग युद्ध गरे । तिनले गात, यब्‍ने र अश्‍दोदका पर्खालहरू भत्‍काइदिए । तिनले अश्‍दोदको गाउँमा र पलिश्‍तीहरूका बिचमा सहरहरू बनाए ।
7परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
8अम्‍मोनीहरूले उज्‍जियाहलाई कर तिरे, र तिनको ख्‍याति मिश्रदेशको ढोकासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
9साथै उज्‍जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्‍तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
10तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
11यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे ।
12वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।
13तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
14तिनीहरूका निम्ति—सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
15धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्‍याति टाढाका देशसम्‍म पुग्‍यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
16तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे ।
17पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए ।
18तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”

19तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो ।
20प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्‍यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
21राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए । तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
22उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌ ।
23यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्‍ठरोगी हुन्‌ ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।